Aafno Khabar

माधव नेपालसहित एमालेका ११ नेता पार्टीबाट निष्कासन

  • आफ्नो खबर
  • May 24, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेले झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ नेता निष्कासन गरेको छ ।

बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । तर उनीहरुले जवाफ फर्काएनन् । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतबाट ब्युँतिएको एमालेमा ह्वीप उल्लंघन, विपक्षीसँग मिलेर चुनावमा आफ्ना नेतालाई पराजित र विपक्षीकै नेतृत्वमा सरकार बनाउने कोशिश गरेको आरोप लगाएर उनीहरुलाई निष्कासन गरिएकाे हाे ।

सोमबार ओलीको सिफारिसमा राष्ट्रपतिले भंग गरेको प्रतिनिधिसभाको पुनःस्थापना, देउवा प्रधानमन्त्री र संसद अधिवेशन आह्वानकाे मागसहित सर्वोच्च अदालतमा दिइएको रिटमा विपक्षी कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चाका गरी १४६ जना सांसदले हस्ताक्षर गरेकोमा नेपाल पक्षका २३ जना सांसद सामेल भएका थिए ।

अन्तिम समयमा नेपाल पक्षका सांसद गोकर्ण विष्ट, योगेश भट्टराई, पवित्रा निरौला र गणेश पहाडी भने हस्ताक्षरबाट पछि हटेका थिए ।