काठमाडाैं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले शुक्रबार बसेको एमाले बैठकमा खिचिएको तस्बिरबारे प्रतिक्रिया दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एमाले नेताहरुको बैठकमा एमाले नेताहरु प्रधानमन्त्रीसामू झुकेर नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ । सामाजि सञ्जालमा उक्त फाेटाे भाइरल भएपछि भुसालले फाेटाेबारे प्रतिक्रिया दिएका हुन् ।
भुसालका अनुसार उक्त फोटो बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेका हुन् ।
बैठकमा प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरु कोहि नहुनु ‘संयोग मात्र हो वा होइन थाहा भएन’ भनी सो कार्यालयको विश्वसनीयतामा पनि उनले प्रश्न उठाएका छन् ।
उनले भनेका छन् ‘हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ । समाजमा जान्ने बुझ्ने भनिएकाहरु पनि यस दौडमा देखिनु र त्यहाॅ प्रधानमन्त्री कार्यालयका फोटोग्राफर बाहेक अरु कोहि नहुनु संयोगमात्र हो वा होइन थाहा भएन ।’
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता र वरिष्ठ नेता माधवकुमार नेपालसहितका पार्टीका असन्तुष्ट समूहका नेताहरुबीच हिजो शुक्रबार सिंहदरबारमा लामो वार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीको सचिवालयले नियतवश फोटो खिचेर बाहिर प्रचार गरेकाे भनी अहिले खनाल–नेपाल समूह रुष्ट बनेको छ । ओलीप्रति नतमस्तक छन् भनेर बदनाम गर्ने खराब नियत राखेर बाहिर फोटो ल्याइएको भनी खनाल–नेपाल समूह खण्डनतर्फ लागेकाे छ ।