काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । वार्तामा दाेस्राे तहका नेताहरु पनि सहभागि भएका थिए ।
नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको बताइएकाे छ । दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए ।
करिब पौने ३ घण्टा चलेको वार्तामा पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउनेबारे छलफल भएकाे थियाे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री ओली, वरिष्ठ नेता नेपालसँगै ओली पक्षीय नेता सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल र विष्णु रिमाल सहभागी थिए ।
नेपाल पक्षका वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी थिए ।
बिहीबार बूढानीलकण्ठमा ओली र नेपालबीच भएको वार्तामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको थियो । बिहीबारको छलफलमा २०७५ जेठ २ गतेमा पार्टीलाई फर्काउन र फागुन २८ गतेको निर्णय फिर्ता लिने विषयमा ओलीले सहमति जनाएपछि एमाले एकता पहल सुरु भएको हो ।