Aafno Khabar

ईश्वरकाे नाम नलिइ प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

  • आफ्नो खबर
  • May 14, 2021 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार दिउँसो शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहणका क्रममा उनले ईश्वरको नाम भने लिएनन् ।

बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भएकोले ओलीलाई संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषद्मा पुरानै अनुहारले पाए निरन्तरता

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समूह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।

उनीहरु सहभागी नभएपछि मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । उनीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै पुरानै मन्त्रीले निरन्तरता पाएका हुन् ।