काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त दललाई साँझ ९ बजेसम्म दाबी पेश गर्न आह्वान गरेपनि कसैको दावी नआएपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टीकाे महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन । एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा नदिएपछि ओली पुन: प्रधानमन्त्री बन्न सफल बने ।
प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।