Aafno Khabar

राष्ट्रकाे मिसन ‘काेभिड १९’ बनाउन सरकारलाई याेगेश भट्टराईकाे सुझाव

  • आफ्नो खबर
  • May 13, 2021 प्रकाशित

काठमाडाैं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोना संक्रमित बिरामीलाई अक्सिजन र बेड दिन नसक्नुले लज्जित हुनुपरेको बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले बिरामीलाई न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले लज्जित भएको उल्लेख गरी बिहीबार बिहान फेसबुकमार्फत सरकारलाई ४ बुँदे सुझाव पनि दिएका छन् ।

यस्ताे छ सरकारलाई भट्टराईले गरेको ध्यानाकर्षण:

आज विश्व नै कोभिडबाट आक्रान्त छ। हरेकदिन बिरामीहरुको अकाल मृत्‍यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरु लाचार बनिरहेको अवस्था छ ।

हाम्रो देश अझ संकटतिर जाँदै छ । विगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ ।

बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले हामीसबै लज्जित छौँ ।

यस्तो संवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढदै गएर व्यवस्था नै धरापमा पर्न सक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।

निम्न बिषयमा सरकारको ध्यानाकर्षण गर्दछु :

१. अहिले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ। तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामाग्री र जनशक्तिसहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नु पर्दछ। र भारतलगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।

२. २०७२ को महाभूकम्पपछि जसरी राजनीतिक बिमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो । एमाले, माओवादी र नेपाली कांग्रेसका बीचमा १६ बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिडविरुद्धको लडाईंमा फेरि एकपटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ । राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।

३. सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाईंमा केन्द्रीत गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।

४. आर्थिक अभाव हुन नदिने । अन्य शीर्षकका बजेट पनि कोभिडमा केन्द्रीत गर्ने । कोभिडविरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुविधा हाललाई स्थगित राख्ने ।