काठमाडाैं । देशभर बिहीबार सामान्यतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भइरहेकाे छ ।
अहिले देशका अधिकांश भू–भागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
बिहीबार दिउँसो देशभर सामान्य बदली हुने, केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने बताइएकाे छ ।
प्रदेश १ का र अन्य पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि सूचनामा उल्लेख छ ।