इलाम । भारतीय जेलमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना आज जन्मघर इलाम पुगेका छन् । ४० वर्षदेखि भेट नभएका छोराको बाटो हेर्दै बसेकी थिइन् ८६ वर्षकी आमा धनमाया तिम्सिनाल ।
विभिन्न संघसंस्था र भाइहरुको सहयोगमा ४० वर्षपछि आफ्नो जन्मघर पुगेका दुर्गाप्रसाद, आमालाई भेट्दा केही बोल्न सकेनन् । निकै डराएजस्तो देखिएका दुर्गाप्रसादले सबैले आमासँग बोल्न भनेपछि मलिनो स्वरमा ‘आमा’ भनी बोलाएका थिए ।
आमाका लागि भनेर कोलकत्ताबाट लिएर आएको मिठाइ उनले आमालाई दिएका छन् । आशा मारिसकेको छोरालाई ४० वर्षपछि भेट्न पाउँदा आमा धनमायाको आँखामा खुसीको आसु थियो भने उनी छोरालाई भेटेर दंग देखिन्थीन् ।