Aafno Khabar

विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध फुकुवा भएपछि के गर्दैछ ?

  • आफ्नो खबर
  • March 10, 2021 प्रकाशित

काठमाडौं । प्रतिबन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले राजनीतिक मुद्दासहित भेटघाटमा व्यस्त रहेको सो समूहले जनाएको छ । सरकारी पक्षले नेकपासँग भएको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको र उसका कार्यकर्तामाथि लागेका मुद्दा क्रमशः फिर्ता हुँदै जाने जनाएको छ।

गत साता तीन बुँदे सम्झौता गर्दै उक्त पार्टीले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो। विप्लव समूह भनेर पनि चिनिने नेकपा अब कस्ता गतिविधिमा संलग्न हुन्छ भन्ने धेरैले चासो व्यक्त गरेको पाइन्छ।

तीन बुँदे सम्झौतामा समूहका कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने र उनीहरूलाई रिहा गर्ने पनि उल्लेख छ। सरकारको तर्फबाट जे वचनबद्धता भएको छ त्यसअनुसारकै काम हुन्छ र त्यसको शुरूवात भइसकेको पनि छ। कानुनी प्रक्रिया भएको हुनाले कानुनी जटिलतालाई ध्यानमा राखेर प्रक्रियाहरू अगाडि बढ्छन् र बढ्ने क्रममा छ, एक सरकारी अधिकारीले भने ।

सरकारसँग सम्झौताअघि नै विप्लव समूहसहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेकपाले संयुक्त रणनीतिक मोर्चा घोषणा गरेका थिए।

दलाल संसदीय व्यवस्थाको विकल्पमा आमजनतालाई वैज्ञानिक पुँजीवादी व्यवस्थाका बारेमा प्रशिक्षित गर्ने, परिचालित गर्ने तथा देश र जनताका समस्यालाई लिएर सङ्घर्ष गर्ने उद्देश्यलेू मोर्चा गठन गरिएको नेताहरुले बताएका छन् ।

शान्तिपूर्ण राजनीतिमा आएको प्रतिबद्धता जनाए पनि चन्द नेतृत्वको नेकपाको नीति अझै प्रस्ट हुन नसकेको कतिपय राजनीतिशास्त्रीले बताउने गरेका छन्। प्राध्यापक कृष्ण खनाल भन्छन्, विप्लवको राजनीतिक लाइन अहिलेसम्म मैले प्रस्ट रूपमा बुझ्न सकिरहेको छैन।

वैज्ञानिक समाजवाद भनेर के भन्न खोजेको ? साम्यवाद हो भने प्रस्ट भन्नुपर्‍यो नि । अमूर्त कुरा गरेर भएन। सरकारसँग गरेको सम्झौतालाई विप्लव समूहले आफ्ना गतिविधि फुकुवा गराउने रणनीतिको रूपमा लिएको भन्दै कतिपयले आउँदा दिनमा पनि उसका गतिविधि शान्तिपूर्ण हुनेमा आशङ्का व्यक्त गर्ने गरेका छन्।

तर उक्त समूहका नेताले आफूहरू सम्झौताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र शान्तिपूर्ण रूपमै अन्य राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने बताउँछन्।