Aafno Khabar

१ सय ४ वर्षअघि बनेको सुरुङमार्ग जसलाई सरकारले किन ब्यूत्याउन खोज्दैछ ?

  • आफ्नो खबर
  • February 19, 2021 प्रकाशित

काठमाडौं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब ५ करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको हो । प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।

प्रदेश–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्ष अघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । उक्त मार्गबाट वि.सं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् ।

वि.सं २०१८ तिर चुरियामाई सुरुङमार्ग हुँदै यात्रा गर्नुभएका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार उक्त सुरुङमार्ग सञ्चालनताका भारतबाट बाराको अमलेखगञ्जसम्म रेलसमेत आउँथ्यो । रेलपछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो । अग्रजहरुका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्याइन्थ्यो ।

अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

आजभन्दा १०४ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेख्नुभएको छ ।

उहाँले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा उल्लेख गर्नुभएको छ । स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आउनुभएका हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गर्नुभएको छ ।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।

नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उहाँलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस् त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर्’ भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।