Aafno Khabar

कहाँ पुग्यो भागरथीको बलात्कारपछि हत्याको अनुसन्धान

  • आफ्नो खबर
  • February 12, 2021 प्रकाशित

बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानलाई प्रहरीले तीव्रता दिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको बलात्कारपछि हत्याको अनुसन्धानलाई तेस्रो चरणमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । भागरथी हत्यालाई प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएर अनुसन्धान गरिरहेको र दोस्रो चरणमा सूचनाको पुष्ट्याइँ सकेको जनाएको छ।

अहिले तेस्रो चरणमा व्यक्तिलक्षित अनुसन्धान भइरहेको छ। यो अनुसन्धान धेरै लामो नजाने प्रहरीले जनाएको छ। अहिले व्यक्तिलक्षित अनुसन्धान भइरहेको र प्राविधिक रूपमा अनुसन्धान अगाडी बढेको प्रहरीको भनाई छ  ।

भागरथीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको कल रेकर्ड डिटेल निकाल्ने र त्यसमाथी विश्लेषणात्मक अनुसन्धान गर्ने काम प्रहरीले गरेको छ । भागरथीसँग रहेका तीन वटा सिमकार्डहरूबाट भएका फोन र त्यसमा सम्पर्कमा आएका व्यक्तिहरू प्रहरीको निगरानीमा छन्।

‘भागरथीले फोन साथै म्यासेन्जरमा बढी कुरा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या भएको दिन भागरथी साथीहरूबाट छुट्टिएपछि एक्लै जंगलबाट बाटो हुँदै घर आएको अनुसन्धानले देखाएको छ। फर्किने क्रममा कोही व्यक्ति उनको पछि लागेको र उसले बलात्कार गरेको प्रहरी अनुसन्धान छ।

बलात्कारपछि घटना सार्वजनिक हुने डरले तुरुन्तै घाँटी थिचेर हत्या गरेको देखिएको छ। तर, पीडितले प्रतिकार गर्न सकेको घटनास्थल मुचुल्काबाट नदेखिएको प्रहरी बताउँछ । भागरथीको हत्या भएपछि भेटिएका भौतिक प्रमाणहरू विधिविज्ञानबाट प्रयोगशालामा छन्।

‘शंकास्पदहरूको गतिविधि भेरिफाइ गर्ने, सोधपुछ, स्क्रिनिङ गर्ने काम अहिले भइरहेको छ । भागरथी हत्यामा एक वा धेरै व्यक्ति संलग्न छन् भन्ने प्रहरी अझै अन्योलमै छ। कसैले सहयोगीको रूपमा भूमिका निर्वाह गरेको हुनसक्ने प्रहरीको बुझाइ छ।

भागरथीको बलात्कारपछि हत्यामा उनीसँग नजिक र परिचित मानिसकै संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाउँछ ।

भागरथी हत्याबारे बैतडी प्रहरी, सुदूरपश्चिम प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एकीकृत रूपमा अनुसन्धान गरिरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी आफैं घटनास्थलमा गएर अनुसन्धानमा सहभागि भएका छन् ।

भागरथीको हत्या भएको १० दिन भइसकेको छ। उनको शव जिल्ला अस्पताल बैतडीमा छ। आफन्तले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका कारण प्रहरीलाई दबाब छ।