काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार पुनः एकता घोषणा भएको छ ।
दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो । एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् ।
एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे छन् । एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ । नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य छन् ।
२०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो । सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए ।
तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो । यसबीच विवेकशीलको नेतृत्वमा पाण्डे निर्वाचित भएपछि यी दुई दलबीच पुनः एकीकरणको प्रक्रिया शुरु भएको थियो ।
गएको असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए । सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो ।