काठमाडौं । केही दिनयता अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या तीब्र बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा बुधबार संक्रमित हुने तथा अस्पतालमा भर्ना हुनेको संख्या हालसम्मकै उच्च भएको छ ।
अमेरिकामा पहिलो पटक एक दिनमा अस्पताल भर्ना हुनेको संख्या एक लाखभन्दा बढी रहेको जनाइएको छ । यो नोभेम्बरको सुरुवातको भन्दा करिब दुई गुणा बढी हो । यसका साथै बुधबार नयाँ संक्रमितको संख्या पनि हालसम्मकै उच्च देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार मात्रै अमेरिकामा एक लाख ९५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
त्यस्तै बुधबार नै अमेरिकामा कोभिड–१९ को संक्रमणका कारण २ हजार ७३३ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितको संख्या एक करोड ४१ लाख नाघेको छ भने २ लाख ७६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
अमेरिकाले केही सातायतादेखि नै कोभिड बिरामीको संख्यामा उल्लेखनीय रूपमा वृद्धिको सामना गरिरहेको छ । जसमा नोभेम्बरमा मात्र हरेक साता नयाँ संक्रमितहरू लाखौंको संख्यामा थपिएका हुन् । सरकारी निकायहरूले देशको स्वास्थ्य सेवा प्रणाली जाडोयाममा अप्रत्याशित दबाबमा परेको बताइरहेका छन् ।
यसअघि सीडीसीका प्रमुख रोबर्ड रेडफिल्डले डिसेम्बर, जनवरी र फेब्रुअरी महिनामा देशको सार्वजनिक स्वास्थ्य क्षेत्रले अभूतपूर्व चुनौतीको सामना गर्ने बताएका थिए । बाक्लो जनसंख्या रहेका क्यालिफोर्निया, टेक्सास, फ्लोरिडालगायत राज्यमा पछिल्लो समय बढी प्रभावित देखिएका छन् ।