Aafno Khabar

कर्णालीको विवाद मिलाउने ओलीको प्रयास असफल, बैठकमा प्रचण्ड नै गएनन्

  • आफ्नो खबर
  • October 17, 2020 प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीमा देखिएको विवादमा केन्द्रले हस्तक्षेप गरेको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशनसमेत दिनुभएको छ ।

शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा कर्णालीका नेताहरुलाई बोलाएर कर्णालीमा देखिएको विवाद पार्टी केन्द्रले टुंग्याउने बताउनुभएको हो ।

ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बैठकमा जानकारी गराएको बुझिएको छ ।

आजको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बालुवाटार गएका थिएनन् । कर्णालीका दुवै पक्षका नेताहरुसँग भने बालुवाटार गएर आ–आफ्नो कुरा राखेका थिए ।

आज बालुवाटारमा प्रधानमन्त्री ओलीले सबै पक्ष बसेर छलफल गर्ने र विवाद आजै टुंग्याउने भनेको भए पनि अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल तथा यस्तै कर्णालीका इन्चार्ज जनार्दन शर्मा पनि बैठकमा आएका थिएनन् ।

नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद छताछुल्ल भएको थियो । तर माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ ।

नेपाल समूहलाई थप तीन मन्त्री दिने मुख्यमन्त्री शाहीले सहमति जनाएका छन् भने कर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् ।