Aafno Khabar

के हो ‘लङ कोभिड’, कसरी हुन्छ ?

  • एजेन्सी
  • October 11, 2020 प्रकाशित

अधिकांश मानिसका लागि कोरोना खतरनाक रोग होइन । तर, केही मानिसका लागि भने यो निकै घातक रोग हो । किनकि केही मानिसमा कोरोना ठीक हुन लामो समय लाग्छ ।

केही महिनासम्म थकान, दुखाइ र सास फेर्न समस्या समेत हुने गरेको छ । यो स्थितिलाई लङ कोभिड भनिन्छ । मानिसमा यसको नराम्रो प्रभाव परिरहेको छ । यस्ता मानिसहरु थोरै हिँड्दा समेत गल्ने गर्दछन् ।

महामारीको समयमा अहिलेसम्म मानिसको ज्यान बचाउनेमा लगाइएको छ । तर, अब कोरोनाबाट लामो समयसम्म हुने असरबारे समेत बहस हुन थालेको छ । तर केही यस्ता प्रश्न छन्, जसको जवाफ मिल्न सकेको छैन । जस्तो कि लङ कोभिड के हो, किन हुन्छ र शरीरमा यसको प्रभाव कस्तो पर्छ ?

के हो लङ कोभिड ?

लङ कोभिडको कुनै मेडिकल परिभाषा छैन । न त सबै मानिसमा एकै खालको लक्षण नै हुन्छ । लङ कोभिडसँग जुधिरहेका २ मानिसमा देखिने लक्षण फरक हुन सक्छन् । तर, अत्यधिक थकान महसुस गर्नु एक आम लक्षण हो ।

सास फेर्न समस्या हुने, लगातार रहने कफ, जोर्नी र मांशपेशीमा हुने दुखाइ, टाउको दुख्ने, सुन्न र हेर्न समस्या हुने, सुँघ्ने शक्तिमा क्षयिकरण र स्वाद थाहा नपाउने आदि लक्षण लङ कोभिडमा पाइएको छ । मुटु, फोक्सो र किड्नीमा समेत नोक्सान हुन सक्छ । लङ कोभिडसँग जुधिरहेका केही मानिस डिप्रेसन र एन्ग्जाइटीको सिकार समेत भएका छन् । यस मानिसको दैनिकी समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।

समस्याको समना गरिसकेकी जेड ग्रे क्रिस्टी भन्छिन्, ‘मलाई यस्तो थकान कहिलै पनि महसुस भएको थिएन ।’ लङ कोभिडबाट मुक्त हुन इन्सेटिभ केयरमा रहेका मानिसहरुलाई मात्रै समस्या हुने होइन । सामान्य लक्षण भएका मानिसले समेत यस्तो समस्याको सामना गर्नु पर्छ । एक्सटर विश्वविद्यालयका प्रोफेसर डेभिड स्टर्न भन्छन्, ‘लङ कोभिड छ भन्ने कुरामा कुनै शंका छैन।’

कसरी हुन्छ लङ कोभिड ?

रोमको एक ठूलो अस्पतालबाट डिस्चार्ज गरिएका १४३ जनामा गरिएको एक अध्ययन अमेरिकन मेडिकल एसोसिएसनको एक जर्नलमा छापिएको छ । उक्त अध्ययन अनुसार ८७ प्रतिशत मानिसमा २ महिनापछि पनि कोरोनाका कम्तिमा एक लक्षण पाइएको छ ।

यीमध्ये आधा मानिसले थकान महसुस भएको बताएका थिए। यद्यपी यस्तो अध्ययन ती मानिसमा केन्द्रित हुन्छ, जसलाई अस्पतालमा भर्ना गरिन्छ । ब्रिटेनको कोभिड सिप्टम ट्र्याकर (जसलाई ४० लाख मानिसले प्रयोग गर्छन्) को तथ्यांक अनुसार ३० दिन पछि समेत १२ प्रतिशत मानिसमा लक्षण पाइएको छ । हालै सार्वजनिक भएको तथ्यांक अनुसार २ प्रतिशत मानिसमा ९० दिनपछि पनि लङ कोभिडको लक्षण देखिएको छ ।

के गम्भीर कोभिड हुँदा लङ कोभिड हुन्छ ?

गम्भीर कोभिड हुँदा मात्रै लङ कोभिड हुन्छ भन्ने होइन । डबलिनमा ५० प्रतिशत मानिसमा १० हप्ता पछि समेत कोभिडको लक्षण देखियो। एक तिहाइ मानिस आफ्नो काममा फर्कन सक्षम थिएनन्। यद्यपी अत्यधिक थकान लङ कोभिडको एक प्रमुख लक्षण हो ।

लिसेस्टर विश्वविद्यालयका क्रिस ब्राइटलिंग्स कोभिडबाट पीडित मानिसलाई ट्याक गर्ने एक प्रोजेक्टमा काम गरिरहेका छन्। उनी मान्छन् कि जुन मानिसमा निमोनिया भइसकेको छ, उसले धेरै समस्याको सामना गर्नुपर्न सक्छ। किनकि उसको फोक्सोमा खराब असर परिसकेको हुन्छ।

किन भइरहेको छ लङ कोभिड ?

यसलाई लिएर धेरै धारणा छन् । तर, कुनै पनि सटिक उत्तर अहिलेसम्म मिलेको छैन । हुन सक्छ कि भाइरस शरीरका धेरै हिस्साबाट बाहिर निक्लिसकेको हुन्छ ।

किंग्स कलेज लन्डनका प्रोफेसर टिम स्पेक्टरका अनुसार यदि लामो समयसम्म पखाला चल्यो भने पेटमा भाइरस भेटिन सक्छ । यदि सुघ्ने शक्ति धेरै दिनसम्म कम भयो भने भाइरस नशामा हुन सक्छ ।

कोभिडले मानिसको मेटाबोलिस्ममा समेत परिवर्तन ल्याउन सक्छ । मधुमेहका रोगीका लागि कोरोना पछि सुगर कन्ट्रोल गर्न मुस्किल परेको देखिएको छ । दिमागमा समेत केही परिवर्तनको संकेत देखिएका छन् । यस्तो कोरोनाले रगतमा समेत परिवर्तन ल्याउन सक्छ ।

के यो असामान्य हो ?

भाइरल ज्वरो वा खोकीका कारण थकान जस्ता समस्या देखिनु सामान्य हो । भाइरसको इन्फेक्सनको असरबाट बाहिर निस्कन लामो मसय लाग्छ ।

केही प्रकारका ज्वरोको असर शरीरमा एक महिनासम्म रहन्छ । प्रोफेसर ब्राइटलिङ भन्छन्, ‘मानिसहरुमा कोभिडका लक्षण लामो ममयसम्म देखिइरहेको छ। यस्ता मानिसको संख्या बढिरहेको छ ।’ यद्यपी यी सबै अनुमान हुन् । जबसम्म यस विषय वैज्ञानिक रुपमा पुष्टि हुँदैन तबसम्म केही भन्न सकिँदैन ।

बीबीसी हिन्दीबाट ।