Aafno Khabar

मन्त्रीपरिषद पुर्नगठन हुँदा यी मन्त्रीहरु बिदा हुन सक्छन्

  • आफ्नो खबर
  • October 9, 2020 प्रकाशित

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुर्नगठनको तयारीमा लागेको लामो समय बितिसक्यो । पार्टीमा देखिएका विभिन्न विवादका कारण मन्त्रीपरिषद पुर्नगठनले सार्थकता पाउन सकेको छैन् ।

पछिल्लो समय भने नेकपाको विवाद मत्थरका लागि दुई अध्यक्ष दिनहुँ जसो भेटघाट र छलफलकमा जुटेका छन् । नेकपा अध्यक्षद्धयबीचको यो निरन्तरको छलफलले पार्टी र सरकारका कामलाई अगाडी बढाउन सहज हुने नेकपा नेताहरुको बुझाइ छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच दशैं अगाडी नै सरकार हेरफेरका बिषयमा छलफल भएको बुझिएको छ ।

दुई अध्यक्षहरुबीच अहिलेको मन्त्रीपरिषदमा रहेका केही मन्त्रीलाई बिदाई गर्ने र केही नयाँ अनुहारलाई अवसर दिने गरी छलफल भइरहेको छ । स्रोतका अनुसार अहिलेको सरकारबाट बिदाइ हुन सक्ने सम्भावित मन्त्रीहरुको सूची यस्तो रहेको छ ।

इश्वर पोखरेल
रक्षा मन्त्री इश्वर पोखरेल यसपालिको मन्त्रीपरिषद पुर्नगठनमा नअटाउने सम्भावना रहेको स्रोतको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र मानिने पोखरेलको कामबाट प्रधानमन्त्री स्वयम सन्तुष्ट नरहेको बताइएको छ ।

भानुभक्त ढकाल
स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकाल यस पटक बाहिरिने मन्त्रीको पहिलो नम्बरमा रहेको बताइएको छ । कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र मिडिया व्यवस्थापनमा पनि चुकेको आरोप ढकाललाई लागेको छ ।

स्वास्थ्य मन्त्री ढकालले कोरोना नियन्त्रणमा प्रभावकारी निर्णय लिन नसक्दा कोरोना नियन्त्रण जटिल बन्दै गएको सरकारको बुझाइ छ ।

पदमा अर्याल
भूमी व्यवस्था मन्त्री पदमा अर्याल पनि यस पटक बाहिरिने मन्त्रीको सम्भावित सूचीमा रहेको नाम हो । सरकारमा प्रतिनिधित्व गर्ने महिला मन्त्री अर्यालको स्थानमा महिला नै मन्त्री गराउने गरी अर्याललाई हटाउन लागिएको स्रोत बताउँछ ।

बिना मगर
पूर्व माओवादीको तर्फबाट मन्त्री बनेकी बिना मगरको कामबाट प्रधानमन्त्री ओली सन्तुष्ट नरहेको स्रोत बताउँछ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिनालाई मन्त्रीबाट हटाएर पूर्व माओवादीबाट नै मन्त्री बनाउने तयारी भइरहेको छ ।

गिरीराज मणि पोखरेल
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेल यसपालि मन्त्रीपरिषदमा नअटने मन्त्रीको सम्भावित सूचीमा रहेको नाम हो । पोखरेलले सरकारको भावना अनुरुप काम गर्न नसकेको प्रधानमन्त्रीको बुझाइ छ ।