काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारसमक्ष अल्टिमेटम दिएको छ ।
आइतबार विज्ञप्तिमार्फत संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको हो ।
संघका महासचिव बद्री रिजालले विज्ञप्तिमार्फत भनेका छन् ‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।’
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी गत २९ गतेदेखि डा. गोविन्द केसी आमरण अनशन बसे पनि सरकारले उनको मागको विषयमा चासो दिएको छैन ।