सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ ।
नेपाल र चीनका अधिकारीबीच बुधबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी थिए । चीनतर्फबाट आएका सामान लिपिङ पुलमा ‘अनलोड’ गर्ने भएको छ भने नेपालतर्फका मजदूर तथा चालकले ती सामान ‘लोड’ गरेर ल्याउने सहमति भएको छ ।
नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो ।
नाकामा खटिने चालक र मजदूरको पाँच पाँच दिनमा कोरोना परीक्षण चीनले गर्नेछ । यसका लागि नपालको तर्फबाट २८ जनाको टोली तयारी अवस्थामा छन् ।