Aafno Khabar

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने

  • आफ्नो खबर
  • September 26, 2020 प्रकाशित

काठमाडौं । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको छ ।

कोरोनाको सङ्क्रमण दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सङ्क्रमणको अवस्था कम हुने बित्तिकै सङ्गठित क्षेत्रका व्यक्तिहरुलाई सङ्गठित रुपमा देश दर्शन गराउने बताउनुभएको छ ।

काठमाडौंमा शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई सङ्गठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताउनुभयो । उहाँले यो अभियानमा साथ दिन निजी क्षेत्रहरुलाईसमेत आग्रह गर्नुभयो ।

विश्वका जुनसुकै देशले पनि आउँदो दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको भन्दै उहाँले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताउनुभयो ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको उहाँले बताउनुभयो । हप्तामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयसँग अन्तरमन्त्रालय छलफल भइरहेको उहाँले बताउनुभयो ।

पर्यटन सम्बद्ध सेवा प्रदायक संस्था तथा कम्पनीहरुले समेत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन ।