Aafno Khabar

आज जितिया पर्वको मुख्य दिन, यस्तो छ जितियाको धार्मिक महत्व !

  • आफ्नो खबर
  • September 10, 2020 प्रकाशित

काठमाडौं । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइनेन जितिया पर्वको आज मुख्य दिन हो ।

तराई क्षेत्रमा मैथली र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइन्छ । विगतमा तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै उल्लास छैन । यस वर्ष घरमै बसेर जितिया मनाइँदै छ ।

आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् । जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।