Aafno Khabar

अहिले नै विद्यालय खाेल्ने अवस्था छैन : शिक्षामन्त्री पाेखरेल

  • आफ्नो खबर
  • September 8, 2020 प्रकाशित

नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिले नै विद्यालय खाेल्ने अवस्था नरहेकाे बताउनुभएकाे छ ।

मंगलबार नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलाकाे सम्बोधनका क्रममा उहाँले विद्यालय कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताउनुभयाे । मन्त्री पोखरेलले भन्नुभयाे ‘विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन ।’

मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षा प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह पनि गर्नुभएकाे छ ।

मन्त्री पोखरेलले रेडियो, टेलिभिजन, अनलाइन र अस्थायी सिकाइ केन्द्रमा केही विद्यार्थी राखेर भए पनि शिक्षण कार्य अघि बढाइने जानकारी दिनुभयाे ।

कार्यक्रममा नुवाकोट क्षेत्र नं १ का सांसद हितबहादुर तामाङ, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, जिल्ला समन्वय समितका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायतले जोखिम कम भएको र थोरै विद्यार्थी भएका विद्यालयमा सुरक्षाको मापदण्ड पूरा गरेर भौतिकरुपमा उपस्थित गराएर र अन्य विद्यालयमा वैकल्पिक विधीबाट शिक्षण क्रियाकलाप अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।