काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड-१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ-आफ्नो अध्ययनरत विभाग-स्कूल-क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गर्नुभएको हाे ।
उहाँले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गर्नुभएको छ ।
त्रिविका सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन, डीन कार्यालय समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकता साथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउनसमेत अनुरोध गरिएको छ ।
त्रिविले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराेना भाइरसका कारण गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगित गरेकाे छ ।