Aafno Khabar

नेपाली सेनाका पूर्वलप्टन थापाले जिते चितुवासँगको लडाई

  • आफ्नो खबर
  • August 23, 2020 प्रकाशित

लमजुङ । लमजुङमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन । आइतबार बिहान बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा पसेको चितुवाको आक्रमणबाट एकजना घाइते भएका हुन । घाइते हुनेमा बेशीसहरका स्थानीय हरिबहादुर थापा रहेका छन । गाउँमा पसेको चितुवा भगाउन खोज्दा एक्कासी आक्रमण गरेको उहाँले बताउनुभयो ।

‘गाउँलेहरूले हैट‘ हैट‘ गरिरहेका थिए। घरछेउको गल्लीमा केही उफ्रिएजस्तो लाग्यो। बाँदर हो कि भनेर खले गराको डिलबाट गल्लीतिर हेरेकोमात्रै थिएँ, बुर्लुक्क उफ्रेर चितुवा पो ममाथि जाइलाग्यो,’ घाइते थापाले भन्नुभयो, ‘पाँच मिनेटजति म र चितुवाबीच घम्साघम्सी भइरह्यो।’

‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथोर्‍यो,’ उहाँले भन्नुभयो, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें। हँसिया चितुवाको नाकमा लागेछ।’ चितुवा फेरि आक्रमण गर्न आएपछि थापाले चितुवाको घाँटीमै हँसियाले हान्नुभएछ ।

चितुवाले थापाको हातको औंला टोकिदिएको छ। खुट्टाका घुँडामा चिथोरेको छ। पाखुरामा गहिरो गरी नङ्ग्राले कोपरिदिएको छ। तैपनि उहाँले चितुवालाई छाडनुभएन, र हँसियाले हानेर मारिदिनुभयो ।

थापा अहिले लमजुङ सामुदायिक अस्पतालमा उपचाररत हुनुहुन्छ। ६८ वर्षीय थापा नेपाली सेनाका पूर्वलप्टन हुनुहुन्छ। मारिएको चितुवालाई जिल्ला वन कार्यालयका कर्मचारीले व्यवस्थापन गर्ने तयारी गरेका छन्।