Aafno Khabar

नेपालले भारतलाई बेच्यो १० करोड ७० लाख युनिट बिजुली

  • आफ्नो खबर
  • August 17, 2020 प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षमा १० करोड ७० लाख युनिट विद्युत् भारतमा निर्यात गरेको छ । निर्यात बढिरहँदा भारतबाट आयात हुने विद्युत भने घट्दै गएको छ ।

देशमा १४ घण्टासम्म लोडसेडिङ हुँदा देशभित्र कुल विद्युत् खपतको झण्डै ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर विद्युत् खपत झण्डै ८० प्रतिशतले बढेको अवस्थामा पनि आयातको प्रतिशत ३७ प्रतिशत हाराहारीमा थियो ।

केही वर्षभित्रै विदुतमा आत्मनिर्भर भइ नेट निर्यात सुरु गरिने प्राधिकरणले जनाएको छ । अहिले इनर्जी बैंकिङ अवधारणमा बिजुली निर्यात भएको हो । आर्थिक वर्ष २०७२ ०७३ मा ३१ लाख ५० हजार युनिट निर्यात भएको थियो ।

गएको वर्ष विद्युत आयात २२ प्रतिशतमा सीमित भएको छ । आगामी वर्ष ५ देखि १० प्रतिशतमा मात्रै सीमित हुने प्राधिकरणले जनाएको छ ।

यस्तै विद्युत् प्राधिकरणले चुहावट १५ प्रतिशत नजिक झारेको छ । आर्थिक वर्ष २०७२ ०७३ मा प्रणालीमा रहेको २५ दशमलव ७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर आर्थिक वर्ष २०७६र०७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।