Aafno Khabar

छाेरा आइसाेलेसनमा, आमाकाे मृत्यु, छिमेकी आएनन्, सेनाले गर्‍याे शव व्यवस्थापन

  • आफ्नो खबर
  • August 17, 2020 प्रकाशित

माेरङ । काेराेना संक्रमणकाे डरका कारण विराटनगरमा एक वृद्धाकाे मृत्यु हुँदा छिमेकी देखा परेनन् । छाेरा काेराेना संक्रमण भएर आइसाेलेसनमा बसेका बेलामा आमाकाे मृत्यु हुँदा काेराेना संक्रमणकाे डरले छिमेकी नगएका हुन् ।

विराटनगर -३ की ८७ वर्षीया वृद्धाकाे निधनपछि छिमेकी काेही नगएपछि २२ घण्टासम्म मृतककाे शव ओछ्यानमा नै रह्याे । त्यसपछि नेपाली सेनाको सूर्यदल गणको टोलीले मृतक वृद्धाको शव आइतबार साँझ व्यवस्थापन गरिदियो ।

मृतकका परिवारका सदस्यमा कोरोना संक्रमण भएपछि शव व्यवस्थापनमा समस्या परेको हाे ।

संक्रमण देखिएपछि वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन् ।  ५० वर्षीय बुहारी र २८ वर्षीय नातिको स्वाब परीक्षण रिपोर्ट पनि आइतबार पोजेटिभ आएपछि उनीहरु होम आइसोलेसनमा छन् । वृद्धाको रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कार गर्न आफन्त र छिमेकीका लागि अनुमति दिइएकाे थियाे ।

तर आफन्त र छिमेकी अन्त्येष्टिमा सहभागी हुन नमानेपछि शव सेनाले व्यवस्थापन गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयाे ।