हलिउड अभिनेत्री ओलिभिया डी हाभिल्याण्डकाे निधन भएकाे छ । उनको १०४ वर्षको उमेरमा आइतबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
हलिउडमा ५० वर्ष भन्दा धेरै सक्रिय रहेकी ओलिभियाले झण्डै ५० चलचित्रमा काम गरेकी छन् । ओलिभियाचारपटक ओस्कार अवार्डमा मनोनयनमा परेकी थिइन् भने उनले दुई पटक अवार्ड पनि जितिन् । उनकाे सन् १९३९ काे गन विद द विन्ड चलचित्र निकै सफल मानिएकाे थियाे ।
ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनको निधन आइतबार पेरिस स्थित निवासमै भएको जानकारी दिइएको सिएनएनले जनाएको छ ।
ब्रिटिस–अमेरिकन अभिनेत्री ओलिभिया सन् १९६० देखि फ्रान्सको पेरिसमा बस्दै आएकी थिइन् । ओलिभियाको जन्म जापानको टोकियोमा सन् १९१६ को जुलाई एकमा भएको हो । त्यसको केही समयपछि उनको परिवार अमेरिकाको क्यालिफाेर्निया गएको थियो ।
उनले सन् १९४६ मा टू इच हिव वन तथा सन् १९४९ मा द हाइरेसका लागि ओस्कार अवार्ड जितेकी थिइन् । सन् १९८० को दशकसम्म काम गरेकी उनले १९८६ मा एनास्टेसियाः द मिस्ट्री अफ एनाका लागि गोल्डेन ग्लोब अवार्ड जितेकी थिइन् ।