बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित चलचित्र दिल वेचारा प्रदर्शनमा आएको छ ।
लकडाउनकाबीच चलचित्र डिजिटल प्लेटफर्म हटस्टारमार्फत शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।
दिल वेचरा जोन ग्रीनको उपन्यास द फल्ट इन आवर स्टोर्समा आधारित चलचित्र हो । यो उपन्यासमा सन् २०१४मा हलिउड चलचित्र पनि बनिसकेको छ । यही चलचित्रको रिमेक भए पनि यसमा अलग चिजहरु भएको भारतीय सञ्चारमाध्यममा चलचित्र समीक्षकहरुले उल्लेख गरेका छन् ।
मुकेश छाब्राले निर्देशन गरेको चलचत्रि दिल वेचारा झारखण्डको जमशेदपुरको किजी बासु र इम्यानुअल राजकुमार जुनियर उर्फ मैनीको प्रेम कहानी हो ।
चलचित्रमा सुशान्त र सञ्जना सांघी मुख्य भुमिकामा रहेका छन् । चलचित्रका बारेमा अहिले सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा समीक्षा भइरहेको छ ।
चलचित्र समीक्षक अजय ब्रम्हात्मजले बीबीसी हिन्दीमा चलचित्र रिमेक भए पनि उत्कृष्ट रहेको उल्लेख गरेका छन् । यस्तै, आजतकमा समीक्षक अमित त्यागीले चलचित्र औसत रहेको बताएका छन् ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित चलचित्रको समीक्षामा धेरैले सुशान्त र सञ्जनाको अभिनयको तारिफ गरेका छन् भने चलचित्रको सम्पादन पक्ष अलि कमजोर भएको उल्लेख गरेका छन् ।