Aafno Khabar

सरकार नागरिकको स्वास्थ्यमा गम्भिर भएन : कांग्रेस

  • आफ्नो खबर
  • July 24, 2020 प्रकाशित

काठमाडौं । सरकारले परीक्षणको दायरा घटाएर कोरोना सङ्क्रमणको दर कम भएको भन्ने भ्रामक प्रचार गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसले बनाएको कोरोना अनुगमन समितिका संयोजक डाक्टर प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर सङ्क्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताउनुभयो ।

संयोजक महतले सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।

राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले हठातमा लकडाउन खोलेको स्पष्ट भएको महतले बताउनुभयो । उहाँले आर्थिक सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताउनुभयो ।

लकडाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई सङ्क्रमणको खतरातर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउनेतर्फ सरकार गम्भीर नभएको कांग्रेसले आरोप लगाएको छ ।