काठमाडौं । बितेका ४० दिनमा खाडी र मलेसियाबाट २१६ नेपालीको शव ल्याइएको छ ।
गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता विदेशमा ज्यान गुमाएका ४७४ नेपालीमध्ये २१६ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।
लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४५९ पुरुष गरी ४७४ जना नेपालीको विभिन्न कारणले मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै अन्त्यष्टिका लागि अनुमति दिएका छन् ।
आफन्तको सहमतिमै १६५ जना नेपालीको गन्तव्य देशमै अन्त्यष्टि गरिएको बोर्डले जनाएको छ । अब खाडी र मलेसियासहित विभिन्न देशमा ९४ नेपालीको शव ल्याउन बाँकी छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि विशेषगरी धेरै नेपाली कार्यरत खाडीका देश र मलेसियामा नेपालीको शव पनि रोकिएको थियो ।
गएको जेठ ३२ गतेदेखि सरकारले लकडाउनकै बीचमा विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान पठाउन थालेपछि भने त्यही जहाजमा नेपालीका शव पनि ल्याउने गरिएको हो ।