काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपी कोइराला नै आधुनिक र लोकतान्त्रिक नेपालका निर्माता भएको बताउनुभएको छ ।
३८ औं बीपी स्मृति दिवसका सन्दर्भमा नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको बीपी बिचार र आजको राजनीतिक सन्दर्भ बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणलाई राणाबाट मुक्त गराएर बीपीले नै लोकतान्त्रिक राज्य बनाएको उल्लेख गर्नुभयो।
पृथ्वीनारायण शाहले देश सिंगो निर्माण गरेको भए पनि नेपाल राष्ट हुन नसकेको भन्ने उहाँको बिचारको कम्युनिष्टहरुले बिरोध गरेको स्मरण गर्नुभयो । जनताको सामूहिक भाबना नभएसम्म राष्ट हुदैन प्रष्ट बिचारका बीपीमा राष्टियताको कुरा गर्दा पहिलो र अन्तिम शर्त भनेकै जनता हुन् भन्ने दृढ मान्यता रहेको निधिले बताउनुभयो।
उहाँले कांग्रेसको अगुवाईमा स्थापना भएको प्रजातन्त्र जनवादी केन्द्रीयतामा बिश्वास गर्ने कम्युनिष्टहरुका कारण संकटमा परेको उल्लेख गर्नुभयो। तर त्यो संकटबाट पार लगाउने काम पनि कांग्रेसले नै गर्ने निधिले दाबी गर्नुभयो । कम्युनिष्ट, राजावादी र संघीयता बिरोधी चित्रबहादुर केसीलाई कांग्रेसले नै लोकतन्त्रको पक्षमा ल्याएको उहाँको दाबी थियो।
अहिले जनताको जीवनमा कोरोनाले संकट ल्याए जस्तै नेपालको लोकतन्त्रमाथि सरकारका कारण संकट आएको निधिको भनाई थियो। लोकतन्त्रमाथि आइपरेको संकट निवारण गर्न बीपीका बिचारलाई कांग्रेसले सुझबुझका साथ अघि बढाउनु पर्नेमा उनले जोड दिनुभयो।
आगामी फागुनमा हुने कांग्रेसको महाधिबेशन लगत्तै हुने निर्बाचनमा कांग्रेसका पक्षमा मत दिएर कम्युनिष्ट तानाशाही व्यबस्थाबाट मुलुकलाई जोगाउन उहाँले देश बिदेशमा रहेका लोकतन्त्रबादीहरुलाई आह्वान पनि गर्नुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय समितिका संयोजक गोविन्द भट्टराईले राणा शासनबाट मुक्त गराएर आधुनिक नेपालको शुरुवात बीपीले नै गरेको स्मरण गराउनुभयो।