Aafno Khabar

प्रधानमन्त्री ओलीलाई गलाउने प्रचण्डको नयाँ कार्ड !

  • July 15, 2020 प्रकाशित

काठमाडौं । साउन २ गते तय गरिएकाे स्थायी कमिटी बैठक अघि सहमती जुटाउने नेकपाका अध्यक्षद्वयकाे प्रयास बुधबार पनि सफल भएन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नो अडानमा रहँदा बुधवार करिव ३ घण्टाको छलफल निष्कर्षमा पुग्न सकेन ।

ओली, प्रचण्डकाे बैठकमा सहभागी नेकपाका एक नेताका अनुसार छलफल सकारात्मक रहे पनि सहमती जुटाउन भने असफल रह्याे । प्रधामन्त्री ओलीले पार्टीको कार्यभार प्रचण्डले सम्हाल्ने गरी अन्य विषयमा सहमति कायम गर्न प्रस्ताव गर्नुभएकाे थियाे । तर अर्का अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने जेठ २ को समझदारीमा फर्किनुपर्ने अडानका कारण सहमती जुटन नसकेकाे हाे ।

प्रधानमन्त्री ओली गत मंसिर ४ मा भएको सहमतीबाट अगाडी बढनुपर्ने पक्षमा हुँदा अर्का अध्यक्ष प्रचण्ड भने पालाे पालाे प्रधानमन्त्री बनेर अगाडी बढनुपर्ने पक्षमा छन् । गत मंसिर ४ मा पाँच वर्षे कार्यकालभर ओली प्रधानमन्त्री हुने र प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष हुने समझदारीले भएकाे थियाे । जसले जेठ २ को समझदारी खारेज गरेकाे ओली पक्षकाे भनाइ छ । तर ओली पक्ष बाहेक नेकपा नेता याे समझदारी मान्न तयार छैनन् ।

सरकार सञ्चालन गर्दा दुई अध्यक्षसहित वरिष्ठ नेता माधव नेपाललाई समेत विश्वासमा लिने, मन्त्रिपरिषद र प्रदेश सरकार समेत पुनर्गठन गर्ने उनीहरूको प्रस्ताव छ । नेकपा नेताहरुका अनुसार सचिवालयको बहुमत सदस्यहरु वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल यही पक्षामा देखिएका छन् ।

नेकपाकाे स्थायी कमिटीमा पनि प्रचण्ड-नेपाल पक्षकै बहुमत छ । उनीहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने मत राखेका छन् । तर बहुमतले निर्णय गर्दै प्राधानमन्त्री ओलीले पद नछाड्ने, बरु पार्टी विभाजन हुनसक्ने खतरा बढेपछि स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष वार्तामा जुटेका हुन् ।

नेताहरुका अनुसार भोलि पनि वार्ता हुनेछ । दुई अध्यक्षबीचकाे वार्ताले नै नेकपाकाे विवाद टुंग्याउने उनीहरूकाे मत  छ । भाेलिकाे छलफलमा प्रचण्डले नेकपाका अन्य शीर्ष नेतालाई पनि लिएर जाने बुझिएकाे छ । केही गर्दा पनि प्रधानमन्त्री ओलीलाई गलाउन नसकेका प्रचण्डले ओलीलाई दवाब दिने नयाँ कार्डकाे रूपमा अन्य नेतालाई पनि बैठकमा सहभागी गराउन लागेका राजनैतीक वृतमा चर्चा भएकाे छ ।