काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले साेमबार भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा नै जन्मनुभएकाे बताउनुभएकाे थियाे । त्यसपछि प्रधानमन्त्रीकाे आलाेचना र समर्थनमा सामाजिक सञ्जाल तातेकाे छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता भीम रावलले पनि ट्वीटरमार्फत प्रधानमन्त्रीकाे अभिव्यक्तिमा जवाफ फर्काएका छन् । श्रेष्ठले आलोचनात्मक चेत, तथ्य नहेरी क्षणिक स्वार्थका लागि जे पनि भन्ने प्रवृति त्याग्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएकाे छ । उहाँले यस्तो प्रवृत्तिले समाज र राष्ट्रलाई राम्रो नगर्ने पनि बताउनुभएकाे छ ।
नेपालका राजनीतिक पार्टी,नेता र नेपालीहरुको अपमान र अवमुल्यन नगरौं।आलोचनात्मक चेत बिना,तथ्य नहेरी,तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्यागौं।यसले राष्ट्र र समाजलाई राम्रो गर्दैन।नयाँ युवा पुस्तालाई हामी के सिकाउँदैछौ?देशभक्त र विवेकी बनौं।
— NKShresthaPrakash (@nksthaprakash) July 14, 2020
त्यस्तै, भीम रावलले अहिले अयाेध्याबारे बहस गर्ने बेला याे नभएकाे उल्लेख गर्नुभएकाे छ । उहाँले सीमा क्षेत्र मिचिएकाे,तराईका बस्ती डुबानमा परेकाे, कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषयमा भारतसँग कुरा गर्नुपर्ने बेला राम र अध्योध्याबारे बहस गर्नुपर्ने हो ? भनी प्रधानमन्त्रीसमक्ष प्रश्न पनि गर्नुभएकाे छ । उहाँले बहसकाे विषयान्तर गरियाे भनी प्रश्न पनि गर्नुभएकाे छ ।
यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो?विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो?
— Bhim Rawal, Ph.D. (@BhimRawal179) July 14, 2020