Aafno Khabar

प्रधानमन्त्रीकाे अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा चर्चा

  • July 14, 2020 प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पछिल्लाे अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा चर्चा भइरहेकाे छ । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘राम पनि भारतीय नभएको र अयोध्या पनि भारतको नभएको’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे ।

उहाँकाे याे अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तताएकाे छ । उहाँकाे अभिव्यक्तिमाथि समर्थन र आलाेचना भइरहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभएकाे थियाे ‘हामीले सीता भारतका राजकुमार रामलाई दियौँ भनेर भन्दै आएका छौँ । तर, हामीले सीता भारतलाई होइन, अयोध्यालाई दिएका हौँ । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो ।’

उहाँले थप भन्नुभएकाे थियाे, ‘अयोध्यामा भीषण विवाद छ त्यहाँ (भारतमा)। हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’

उहाँकाे याे अभिव्यक्तिमाथि कतिपयले अपरिपक्व र कमेडीकाे संज्ञा दिएका छन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ट्वीटरमा लेख्नुभएकाे छ,‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ !’

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले पनि ओलीको अभिव्यक्तिले २ देशबीचको सम्बन्धमा अनावश्यक तनाव बढाउने टिप्पणी गर्नुभएकाे छ । उहाँले प्रधानमन्त्रीले उटपट्याङ, अपुष्ट, अप्रमाणित कुरा गरेको पनि उल्लेख गर्नुभएकाे छ ।

यस्तै, ट्वीटरमा डा. कुन्दन अर्याल लेख्नुहुन्छ, ‘याे के बाेलेकाे ? भारतीय टेलिभिजन च्यानलसँग प्रतिस्पर्धा गरेकाे ?’

यस्तै, कतिपयले भने प्रधानमन्त्रीकाे समर्थनमा पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनीहरुले भारतले गरेका कतिपय हर्कतका लागि उस्तै खालकाे जवाफ दिएकाे भनी प्रधानमन्त्रीकाे समर्थन गरिररहेका हुन् । तर कतिपयले धर्म र भावनात्मक विषयमा अभिव्यक्ति दिँदा अपुष्ट र बेतुकका कुरा गर्न नहुने पनि बताएका छन् ।