Aafno Khabar

राहत खोस्ने जनमोर्चाका वडाध्यक्ष पार्टीको कारबाहीमा

  • July 7, 2020 प्रकाशित

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा राहत लिएर गएकाहरुमाथी आक्रमण गर्ने आफ्ना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ ।

प्रवासी नेपाली र प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यान्न किनेर असार १३ गते ढोरपाटन नगरपालिका( ४ खुँगातर्फ ट्रयाक्टरमा लगिएको राहत जनमोर्चाका कार्यकर्ताले खोलामा फ्याँकिदिएका थिए भने राहत लिएर जानेहरूमाथि आक्रमण गरेका थिए ।

उनीहरूले बिरामी उपचार गर्न पठाएको नगद समेत खोसेर लगेका थिए । राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आक्रमणबाट राहत वितरण गर्न गएका डिलबहादुर सेरबुजा र ट्रयाक्टर ड्राइभर घाइते भएका थिए ।

उक्त घटनामा राष्ट्रिय जनमोर्चाको तर्फबाट नगरपालिकाको वडा नं ४ मा निर्वाचित वडाध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरू तिलबहादुर फगामी र गनबहादुर फगामी संलग्न देखिएको जनमोर्चाले जनाएको छ ।

‘उक्त घटनामा संलग्न देखिएकोले उनीहरू तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत नरहने गरी निष्कासन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।