Aafno Khabar

नक्सालाई लिएर पार्टीमा केही व्यक्तिको देवत्वकरण भयो : उपाध्यक्ष गौतम

  • May 20, 2020 प्रकाशित

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालको नयाँ नक्सा जारी गरेको विषयमा प्रधानमन्त्री केपी ओलीको देवत्वकरण गरेको भन्दै असंतुष्टी जनाउनुभएको छ ।

उपाध्यक्ष गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले नेपालको नयाँ नक्सा पारित गरेको सम्बन्धमा कसैको देवत्वकरण गर्न आवश्यक नरहेको टिप्पणी गर्नुभयो।

वर्तमान सरकारको यो निर्णय पार्टीको सामूहिक निर्णय पद्धतिबाट भएको उहाँको भनाई छ । उहाँले अनुयायीहरु व्यक्ति केन्द्रित हुने र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन रहेको भन्दै नयाँ नक्सा जारी गर्ने निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएको दाबि गर्नुभयो ।

उपाध्यक्ष गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको बताउनुभयो ।