यतिबेला मुलुक लकडाउनमा छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सबैजना घरमा छन् । कामको शिलशिलामा घर बाहिर रहेका मजदुरदेखि कला क्षेत्रमा लागेका मानिसहरु पनि जन्मथलोमा छन् ।
यसै शिलशिलामा पछिल्लो समयका निकै चर्चीत गायक प्रकाश सपुत पनि आफ्नो जन्मथलोमा पुगेका छन् । गायक सपुतले गाउँमा छँदा आफ्नो बाबाको कपाल काटेको र कपाल काट्दै गर्दा बाबाले विदेशको घटना सम्झना गराएपछि उनले ती दिनमा आफ्ना बाबालाई सम्झेका कुरा र दशैंमा रमाएका कुरा समाजिक सञ्जालमार्फत सार्वजकि गरेका छन् ।
(आज मैले बाबाको कपाल काट्दै थिए , बाबाले भन्नु भो – “थाछ बाबु साउदी छदा मैले संगै काम गर्ने पुर्वेली भाईलाई कपाल काट्दिन भन्थे ।मलाई सबैले लोभ गरेको भनेर जिस्काउथे तर मैले मन मनै सोच्थे शैलुनमा तिर्ने एक डेड सयले तिमीहरुलाई कापि कलम किन्न हुन्छ । “ बा को कुराले मलाई नराम्ररी हिर्कायो र ति दिनमा पुर्यायो )
“ बा र दशै “
हरेक ३/४ सालमा एकपटक
आउथे एक ज़ोड गहिरो आँखा
र चुपचाप प्रश्न गर्थे मलाई
छोरा,
कहिले हुन्छन ठुलो ?
कहिले बाड्छस दु:ख ?
कहिले सक्छस साउको सावा ?
कहिले ठोक्काउछस म संग गिलास
र बन्छस बाउको साथी ?
उत्तरमा अर्का एक जोड़ निर्दोष आखाहरु
प्रश्नै फर्काउथे ।
बा,
कति पोल्दो हो अरबको घामले ?
कति पोल्दो हो हाम्रो यादले ?
कति पोल्दो हो साउको सावाले ?
कति पोल्दो हो आफ्नै अधुरा रहर
र कहिल्यै नसकिने दुखले ?
३/४ सालमा एकपटक
आउथ्यो , एउटा खदिलो ज्यानको गम्भिर अनुहार
र बनाउथ्यो घरै उजेलो
थपिन्थ्यो, आमाको सिन्दुर टिका र पोतेमा नयाँ चमक ।
भिजाउथ्यो, भाईहरुको मुख गुलियो थुकले ।
सजिन्थ्यो , सबैको हरमा एक एक ज़ोर नया लुगा ।
पाक्थ्यो , अगेनामा बडो प्यारले पालेको रातों भाले ।
बस्थ्यो , पुरानो बाक्सामा केहि हज़ार नयाँ नोटहरु ।
त्यो दिन,
दिन दशै हुदैनथ्यो
मन दशै हुन्थ्यो ।
किनकि
बा आएको साल
आएकै दिन दशै आउथ्यो
बा नआएको साल
दशैको दिन पनि दशै आउदैनथ्यो ।
प्रकाश सपुत
२६ बैशाख २०७७