Aafno Khabar

पार्टी फुटाउने र विपक्षीलाई पेल्ने अध्यादेश राष्ट्रपतिबाट स्विकृत

  • April 20, 2020 प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गर्नुभएको छ । आजै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले आजै पारित गर्नुभएको हो।

यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो। मन्त्रिपरिषदले उक्त अध्यादेश पारित गरेको केही घन्टा नबित्दै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको हो।

ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको छ । राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ।