विश्व बैंकले कोभिड–१९ नामक कोरोना भाइरस प्रभावित देश लक्षित गरेर १२ अर्ब डलर दिने घोषणा गरेको छ । विश्वका ६० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएर जनस्वास्थ्य र आर्थिक संकट परिरहेको अवस्थामा विश्व बैंकले सहयोग गर्ने घोषणा गरेको हो ।
कोरोना फैलिएका देशमा यो सहयोग रकम प्रभावकारी हुने विश्व बैंकले बताएको छ । विश्व बैंकको आर्थिक सहयोग रकम मध्ये ८ अर्ब डलर रकम अन्य तीन स्रोतबाट लिइएको जनाएकाे छ ।
जसअन्तर्गत इन्टरनेशनल फाइनान्स कर्पोरेसनबाट ६ अर्ब डलर, इन्टरनेशनल डेभलप्मेन्ट एसोसियसनबाट १.३ अर्ब डलर, इनटरनेशनल बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलप्मेन्टबाट २.७ अर्ब डलर रहेको छ । उक्त सहयोगमा नीतिगत सल्लाह र विश्वव्यापी विशेषज्ञता र स्थानीय ज्ञानको बारेमा प्राविधिक सहायता पनि समावेश गरिएको छ ।
कोरोना भाइरससँग लड्न विश्व बैंकले सक्रिय रुपमा लाग्ने दाबी पनि गरेको छ ।