काठमाडाैं । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँँस्कोटाले सीजी टेलिकमलाई दूरसञ्चार पूर्वाधार विकासका लागि उपलब्ध गराएकाे रकमबाट भएकाे कामकाे छानविन हुने बताउनुभएको छ ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बाेल्दै उहाँले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारबाहीको विवरण खोजिने बताउनुभयाे ।
सरकारले तत्कालीन समयमा विपदबाट हुने जोखिम वा अन्य कुनै आपतकालीन अवस्थामा सञ्चार सहजता होस् भनेर विश्व बैंकसँग ऋण लिइदिएकाे थियाे । सरकारले आफू धितो बसेर विश्व बैंकबाट ल्याएको १ करोड १८ लाख ६५ हजार डलर सिजीलाइ अनुदानमा दिएको उहाँले बताउनुभयो ।
पूर्वका ४१ जिल्लामा सञ्चार सुविधा पुर्याउन सीजी टेलिकम (तत्कालीन एसटीएम) लाई अनुदान दिएको र अहिलेसम्म कति काम भयो भन्ने विषयमा छानबिन हुने उहाँले बताउनुभयो । साथै, बाँस्कोटाले सीजीसँग २० अर्ब माग्यो भनेर खबर आएको उल्लेख गर्दै आफ्नो घरमा राख्नका लागि पैसा नमागेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘मैले मेरो घरमा राख्न मागको होइन । कति साथीहरुले सञ्चारमन्त्रीले २० अर्ब माग्यो भन्नुभयो । मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन । चाहिँदैन पनि ।’ बाँस्कोटाले जुहारी खेल्नुभन्दा पनि प्रकृयामा आए काम हुने र आफूले कुनै आग्रह पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभयाे ।