काठमाडौं । वेस्ट इन्डिजका भेट्रान ड्वायने स्मिथले एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन् । ईपीएलको तेस्रो संस्करण फागुन १७ देखि चैत्र १ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ ।
शरद भेषावकरको कप्तानीमा रहने ग्लाडियटर्सबाट स्मिथले खेल्ने ईपीएल आयोजकले जनाएको छ । आयोजकले स्मिथको आगमनले ग्लाडियटर्सको ब्याटिङक्रम बलियो बनाउने मात्र नभई टोलीका अन्य खेलाडीका लागि सिक्ने अनुभव हुने जनाएको छ । स्मिथको आर्थिक पाटो भने आयोजक र ग्लाडियटर्स दुवैले खुलाएका छैनन् ।
३६ वर्षे स्मिथले वेस्ट इन्डिजबाट १० टेस्ट, १ सय ५ एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, डेक्कन चार्जर्स र गुजरात लायन्सबाट खेलिसकेका छन् । तीन वर्षअघि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि विश्वभरका फ्रेन्चाइज क्रिकेट खेल्दै आएका छन् ।