Aafno Khabar

संसद बैठक सूचना टासेर स्थगित, कांग्रेसको आपत्ति

  • January 12, 2020 प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको आज बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ ।
आज १ बजेका लागि बैठक बोलाइएको थियो । बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपा सचिवालय बैठकले निर्देशन दिएको भए पनि उनले राजीनामा गर्न मान्नुभएको छैन । तुम्वाहाङ्फेले आफूले नै संसद् बैठक सञ्चालन गर्ने तयारी गर्नुभएको थियो ।

नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभाको बैठक बारम्बार प्रभावित हुँदै आएको छ । यसैबीच प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ ।

आजका लागि डाकिएको बैठक सूचना टाँसेर ८ दिनपछि सारिएपछि कांग्रेसले सरकार र सत्तारुढ दल नेकपालाई तत्काल निकासको मार्ग प्रशस्त गर्न सचेत गराएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाका कारण एक महिनादेखि सदन अवरुद्ध रहेको आरोप लगाउनुभएको छ ।

‘नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्म सूचना टाँसेर स्थगित गरिएपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो । शर्माले प्रतिनिधिसभालाई सत्तारुढ दलभित्रको विवादको छाया बनाएको आरोपसमेत लगाउनुभएको छ ।