काठमाडौं। लामो समयदेखि अत्यन्तै सुस्त देखिएको घरजग्गा कारोबारमा मंसिर लागेपछि केही सुधार देखिएको छ।
अनलाइन प्रणाली लागू भएका देशभरका १ सय ८ वटा मालपोत कार्यालयबाट मंसिरमा सवा दुई अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। जुन गत महिनाको तुलनामा ५३ करोड रूपैयाँले बढि हो।
चालु आर्थिक वर्षको पछिल्लो तीन महिना देशभर कारोबार बढेको तथ्यांकमा देखिन्छ।
चालु आर्थिक वर्षको असोजमा एक अर्ब ७४ करोड रूपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको असोजमा भने एक अर्ब ३५ करोड रूपैयाँ र अघिल्लो आर्थिक वर्षको असोजमा ९० करोड रूपैयाँ मात्रै राजस्व संकलन भएको थियो।
चालु वर्षको कात्तिक महिनामा असोजको तुलनामा दुई करोड रूपैयाँ कम राजस्व संकलन भएको थियो। घरजग्गा कारोबार बढ्ने महिनामा राजस्व घटेपछि व्यावसायीदेखि सरोकारवाला निकायसम्ममा मन्दी आउन सक्ने चिन्ता थियो।
असोजमा एक अर्ब ७४ करोड रूपैयाँ राजस्व संकलन गरेका मालपोत कार्यालयहरूले कात्तिकमा भने एक अर्ब ७२ करोड रूपैयाँ मात्रै राजस्व संकलन गरेका थिए।
गत वर्ष पनि असोजको तुलनामा कात्तिकमा राजस्व संकलन घटेको थियो। गत वर्ष असोजमा एक अर्ब ३५ करोड रूपैयाँ राजस्व संकलन भएकोमा कात्तिकमा ८३ करोड रूपैयाँ मात्रै संकलन भएको थियो।
अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा भने असोजको तुलनामा कात्तिकमा राजस्व संकलन बढेको थियो। अर्थात असोजमा ९० करोड रूपैयाँ मात्रै राजस्व संकलन भएकोमा कात्तिकमा एक अर्ब १० करोड रूपैयाँ संकलन भएको थियो।
विगतमा थोरै थोरै गरि बढ्ने मंसिर महिनाको राजस्व चालु आर्थिक वर्षमा भने ह्वात्तै बढेको छ। चालु वर्षको मंसिरमा दुई अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो गत महिना र गत वर्षको मंसिर दुवैको तुलनामा पनि ५३ करोड रूपैयाँले नै बढि हो। अघिल्लो आर्थिक वर्षको मंसिरको तुलनामा त करिब ८५ करोड रुपैयाँ नै बढि राजस्व संकलन भएको छ।
चालु आर्थिक वर्षको असोज, कात्तिक र मंसिर गरि तीन महिनामा पाँच अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको यही अवधिमा तीन अर्ब ९० करोड रूपैयाँ मात्रै राजस्व संकलन भएको थियो।
चालु वर्षको राजस्व गत वर्षको तुलनामा एक अर्ब ८१ करोड रूपैयाँले बढि हो। आर्थिक वर्ष २०७४/७५ को यही अवधिमा संकलन भएको तीन अर्ब ४१ करोड रूपैयाँको तुलनामा चालु आर्थिक वर्षको राजस्व करिब दोब्बर पाँच अर्ब ७१ करोड छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष दुई अर्ब ३० करोड रूपैयाँ बढि राजस्व संकलन भएको छ।
घरजग्गा कारोबारको समेत केन्द्र रहेको काठमाडौं उपत्यकामा यो वर्ष मंसिरमा पहिलोपटक एक अर्ब रूपैयाँभन्दा बढि राजस्व संकलन भएको छ।
विगतमा सबैभन्दा उच्चतम कारोबार हुँदा मंसिर महिनामा नै ८१ करोड रूपैयाँसम्म राजस्व संकलन हुँदै आएकोमा यो वर्ष भने एक अर्ब रूपैयाँभन्दा बढि राजस्व संकलन भएको हो।
आर्थिक वर्ष २०७४/७५ मा ६९ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको उपत्यकाले गत आर्थिक वर्ष २०७५/७६ मा ८१ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको मंसिरमा भने एक अर्ब दुई करोड रूपैयाँ राजस्व संकलन गरेको हो।