Aafno Khabar

आजको मौसम: उपत्यकासहित अधिकांश भागमा हल्का देखि मध्यम वर्षा

  • आफ्नो खबर
  • April 10, 2025 प्रकाशित

काठमाडौं — काठमाडौं उपत्यकामा अहिले सामान्य वर्षा भइरहेको छ। मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो, साँझ र राति पनि उपत्यकामा सामान्य वर्षा जारी रहनेछ। वर्षासँगै काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा लागेको तुवाँलो क्रमशः हट्ने उनले जानकारी दिएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना पनि देखिएको छ।

दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहँदै केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा तराई क्षेत्रमा पनि एक-दुई स्थानमा यस्तो अवस्था देखिन सक्ने महाशाखाको पूर्वानुमान छ।

रातिको समयमा पनि सोही प्रकृति दोहोरिने देखिएको छ। हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा मेघगर्जन र वर्षा तथा तराईमा हुरी, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित शीर्षकहरु