चालु आर्थिक वर्षको पहिलो आठ महिनामा देशमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो।
अमेरिकी डलरको आधारमा हेर्दा, चालु आवको आठ महिनामा रेमिट्यान्स आप्रवाह ६ दशमलव ९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो दर १६ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो।
यस अवधिमा खुद ट्रान्सफर ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो १० खर्ब ४१ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।
विदेशमा रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ८५ हजार ३५२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८२ हजार ७८३ थियो।