Aafno Khabar
add khanepani

निजामती कर्मचारीलाई विवाह बिदा थप, थारुलाई छुट्टै कोटा

  • आफ्नो खबर
  • August 22, 2023 प्रकाशित

काठमाडौं । निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ ।

यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको विधेयकको मस्यौदामा कर्मचारीलाई विवाह बिदा पनि दिने व्यवस्था राखिएको छ ।

निजामती सेवा ऐन २०४९ को व्यवस्था अनुसार कर्मचारीहरुले हालसम्म भैपरी आउने र पर्व बिदा, घर बिदा, विरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा गरी ९ प्रकारका बिदा पाउँदै आएका छन् । अब यसमा विवाह बिदा पनि थपेर संघीय निजामती सेवाको विधेयक तयार पारिएको हो।

यस्तै संघीय निजामती सेवा विधेयकको प्रस्तावित मस्यौदामा निजामती सेवालाई समावेशी बनाउन थारु क्लस्टर पनि थप गरिएको छ । यसअघि थारुलाई अलग्गै क्लस्टर थिएन । थारुलाई आदिवासी जनजातीमा क्लस्टरभित्र राखिएको थियो ।

संघीय निजामती सेवा ऐन २०४९ मा निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी महिला, आदिवासी जनजाती, मधेशी, दलित, अपांग र पिछडिएको क्षेत्रको क्लस्टरमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति हुने व्यवस्था छ । महिलामा ३३ प्रतिशत, आदिवासी जनजातीमा २७, मधेसीमा २२, दलितमा ९, अपांगमा ५ र पिछडिएको क्षेत्रमा ४ प्रतिशत आरक्षणको व्यवस्था छ ।