फाइल तस्विर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले स्विकार गर्ने बताएका छन् ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुनः संसदमा फिर्ता गरेकी थिइन्। उक्त विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइसकेका छन्।
राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक पारित नगर्ने हो भने दुइटा सम्भावना रहने उनले बताए। पहिलो, यो विषय अदालतमा जान्छ। दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउँछ।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफूले भेटवार्ता गर्दा दोस्रो पटक पनि नागरिकता विधेयक पारित भएन भने राजीनामा दिनुपर्ने अवस्था आउने आफूले राष्ट्रपतिलाई बताएको उनको भनाई छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राजीनामा दिनुपर्ने स्थिति आउनेबारे आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डको दाबी छ।