Aafno Khabar
babasaik siksa

फुटबल टिमका प्रशिक्षक अलमुताईरीलाई हटाउन समितिको सिफारिस

  • आफ्नो खबर
  • २०७९ जेष्ठ ६ गते १४:२४ प्रकाशित

काठमाडौं । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न गठित समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको हो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका क्रममा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएका थिए । समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ ।

अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न सिफारिस गरेको हो ।

कतार फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका अल्मुताइरी गैरव्यावसायिक भएको र खेलाडीको निजी जीवनमा समेत हस्तक्षेप गर्न खोजेको ‍औंल्याइएको छ।

यस्तै एएफसी कप छनोटका लागि बन्द प्रशिक्षणबाट निस्किएका १० जना खेलाडीलाई माफी मगाएर मात्र राष्ट्रिय टोलीमा स्थान दिन पनि सुझाव दिइएको छ ।

केही साताअघि प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि रोहित चन्दले बन्द शिविर छाडेका थिए । त्यसको दुई दिनपछि अन्य ९ जना खेलाडीले पनि बन्द शिविर छाडेका थिए ।

अल्मुताइरीले नै आफूहरुलाई बन्द शिविर छाड्न निर्देशन दिएपछि निस्किएको खेलाडीहरुको दावी छ । बन्द शिविर छाडेका खेलाडीहरुलाई बाहिर राखेर अहिले राष्ट्रिय टोलीको तयारी भइरहेको छ । एन्फाले छानबिन प्रतिवेदन शुक्रबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

खेलाडी प्रशिक्षक विवादको छानविन गर्न एन्फाको कार्यसमिति बैठकले भुतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समिति गठन गरेको थियो ।

छानविन समितिले घटनाको मुख्य दोषी व्यवस्थापक रहेको ठहर समेत गरेको छ । घटनाको क्रममा व्यवस्थापक घटना स्थलमा नभएको र जिम्मेवारी समेत बहन गर्न नसकेको उल्लेख गर्दै समितिले राष्ट्रिय टिमको व्यवस्थापक परिवर्तन गर्न सुझाव दिएको छ ।

वर्तमान राष्ट्रिय टिमको व्यवस्थापकमा मधुसुदन उपाध्याय रहेका छन् । व्यवस्थापकको रुपमा भन्दा अलमुताईरीको सहयोगीको रुपमा खटन पटन गरेको भन्दै उनको आलोचना हुने गरेको छ । विवादलाई समयमै निरुपण गर्न नसकेका कारण ठुलो रुप लिएको छानविन प्रतिवेदनले औल्याएको छ ।

समितिले प्रशिक्षकले बारम्बार अमर्यादि शब्द प्रयोग गरेर खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्कन बाध्य बनाएको समेत प्रतिवेदनमा उल्लेख छ । खेलाडीले संयमता गुमाएर राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर गल्ती गरेको समितिले ठहर गरेको छ ।