फसाउने गरी मुद्दा हाल्नेलाई नै जेल जलान गर्न कास्की अदालतको आदेश

कास्की । ज्यान मार्ने उद्योगमा जाहेरी दिएर अदालतमा प्रतिकुल बकपत्र गर्ने एक जनालाई कास्की जिल्ला अदालतले कैद, जरिवाना र क्षतिपूर्ति तिर्ने फैसला गरेको छ ।

आफ्नो छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको भन्दै ४ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका पोखरा महानगरपालिका–१५ का यमबहादुर गुरुङलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन जिल्ला अदालत कास्कीले फैसला गरेको हो ।

पोखरा महानगरपालिका –१५ स्यानीपाटनस्थित कृषि फार्ममा छोरा विशालविरुद्ध ज्यान मार्ने उद्योग गरेको भन्दै यामबहादुरले बिक्रम भण्डारी, स्वीकार भण्डारी, सागर भण्डारी र अमिर गुरुङविरुद्ध गत २१ साउनमा किटानी जाहेरी दिएका थिए ।

यमबहादुरको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान अगाडि बढाएको थियो ।

यमबहादुरले ज्यान मार्ने उद्देश्यसहित छोरा विशाललाई बाँस, ढुंगा र धारिलो हतियारले टाउको, आँखा र शरीरका बिभिन्न भागमा हानेर गम्भीर चोट लागेको र उनका साथमा काम गर्ने नवीन आलेको टाउको र शरीरमा चोट लागेको जाहेरीमा उल्लेख गरेका थिए ।

विशाललाई मरणासन्न अवस्थामा पु¥याई दाहिने आँखा फुटाली नाकको डाँडीसमेत भाँची दिएको र कान तथा दाहिने हातमासमेत चोट पु¥याएको तथा छुट्याउन गएका नवीन आलेलाई समेत कुटपिट गरेको जाहेरीमा उल्लेख थियो ।

पश्चिमाञ्चल क्षेत्रीय असपताल र हिमालयन आँखा अस्पतालको रिपोर्टमा पनि आँखाको दृष्टि गुमेको, उपचारद्वारा पुनः देख्न सक्ने बनाउन नसकिने र अत्याधिक दुखाइ भए भविष्यमा आँखा नै निकाल्नुपर्ने उल्लेख थियो । यी सबै प्रमाण कागजातसहित गत असार १५ गते जिल्ला अदालत कास्कीमा मुद्धा दायर भएको थियो ।

अदालतमा बयान दिने क्रममा अभियुक्तहरुले त्यो घटना आफूलाई थाहा नभएको बताएका थिए भने जाहेरवाला यामबहादुरले पनि उक्त जाहेरी आफूले नदिएको बताएका थिए । घाइते विशालले पनि ट्याक्टरमा ठोकिएर आफ्नो आँखामा चोट लागेको बकपत्र दिएका थिए ।

जाहेरवालाले अदालतमा प्रतिकुल बकपत्र गरेपछि पक्राउ परेका स्वीकार भण्डारी गत १६ असारमै २० हजार रुपैयाँ रुपैयाँ तिरेर धरौटीमा रिहा भए । १८ साउनमा सागर भण्डारी र भूमि भन्ने अमिर भण्डारीले ८०/८० हजार रुपैयाँ धरौटी तिरेर तारेखमा रिहा भए । विक्रम गुरुङलाई भने थुनामै राख्न अदालतको आदेश थियो ।

जाहेरवालाले नै प्रतिकुल बकपत्र दिएपछि थुनामा रहेका विक्रम गुरुङलाई १३ पुसमा थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो । आफ्नै जाहेरीको प्रतिकुल अदालतमा बकपत्र दिने यमबहादुरसँग भने ३ महिना कैद वा ५ हजार जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन अदालतले फैसला गरेको हो ।

‘मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) (क) मा झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई ३ महिनासम्म कैद वा रु ५ हजार रुपैँयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेकोले उल्लेखित सजाय हुने कार्य गरेको देखिँदा मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ (२) बमोजिम झुठ्ठा कुरा लेखिदिएको हुँदा सोही दफा ४४ (२) खण्ड (क) बमोजिम जाहेरवाला यम बहादुर गुरुङलाई रु ५ हजार जरिवाना हुने ठहर्छ,’ न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले गरेको फैसलामा भनिएको छ ।

मुलुकी फौजदारी कार्यविधिसहिंता अनुसार नै पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था रहेकोले यमबहादुरले झुठो जाहेरी दिँदा थुनामा बस्नु परेकाले बिक्रम भण्डारीलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भर्न अदालतले आदेश दिएको हो ।

बयान पर्ने तथा प्रतिकुल बकपत्र गरेर राज्यको संयन्त्र र सम्पतिसमेत दोहन गर्नेलाई पनि सजायको व्यवस्था छ ।

यसअघि कास्कीमै जबर्जस्ती करणीमा जाहेरी दिएर बयान प्रतिकुल बकपत्र गर्ने एक जनालाई ३ महिना कैद सजाय भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *