Aafno Khabar

सभापतिमा निर्वाचित हुन देउवालाई पुगेन ८२ मत, अब दोस्रो चरणको मतदान हुने

  • आफ्नो खबर
  • २०७८ मंसिर २८ गते ०९:१३ प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।

सभापति पदका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाए । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङ भने सभापतिको होडबाट बाहिरिएका छन् ।