Aafno Khabar

नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित सदस्यलाई ओलीको निर्देशन

  • आफ्नो खबर
  • २०७८ मंसिर १४ गते २१:२३ प्रकाशित

चितवन । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले अवको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गर्नुभयो ।

चितवनको सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समापन गर्दै उहाँले पार्टीमा अनुशासन उलंघन सैह्य नहुने भन्दै त्यसै अनुसार काम गर्न पार्टीका अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई अहंकार नदेखाउन पनि आग्रह गर्नुभयो ।

नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यलाई जनताको सेवक बन्न र राष्ट्रको हितमा समर्पित भएर लाग्न उहाँले सचेत गराउनुभयो । मंसीर २५ र २६ गते केन्द्रिय कमिटीको बैठक बोलाउँदै अध्यक्ष ओलीले पोलिटव्यूरो तथा स्थायी कमिटी गठन गर्ने जानकारी पनि दिनुभयो ।